एमाले पोलिटब्युरो बैठकबाट ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित

110

काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको हो ।

शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए ।

‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रस्तावित विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण गरी दुईथरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव पनि गरेको छ ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन् । साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरू उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।

समाचार वर्गहरू