एमाले सचिवालय बैठक बस्दै, भण्डारी पक्षको फरक मतबारे छलफल होला ?

77
फाइल फोटो

काठमाडौं – नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशन को एकदिन अगाडी केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

यसअघि एमालेले भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। तर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्ने निर्णयले पार्टीभित्र विवाद उठ्ने देखिएपछि बैठक रोकिएको थियो। भण्डारीको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत पेस गर्दैछन्।

यसअघि बसेको केन्द्रीय कमिटीको बैठकमा आफूहरूले राखेको फरक मत अपानिमा नसमेटिएको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले छलफलको लागि निवेदन नै दिइसकेका छन्।

सोमबार एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यता नवीकरण नभएसम्म बहस पार्टीमा चलिराख्ने भन्दै विधान महाधिवेशनमा समेत फरक मत राख्ने बताएका थिए।

त्यसबारे प्रचार विभाग प्रमुख गौतमले भने, ‘अहिलेसम्म पार्टीमा कुनै फरक मत दर्ता भएको छैन। बाहिर बाहिर सुनेका हौँ। अब राख्ने नै भए उहाँहरूले सचिवालय बैठकमा राख्नुहोला। त्यहाँ छलफल होला पनि।’

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन् ।

समाचार वर्गहरू