काठमाडौं – नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा. खगराज शर्मालाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले छनोट गरेको ३ जनामा पर्दा समेत उनले पार्टीको जिम्मेवारीबाट राजीनामा नदिएको स्रोत बताउँछ ।
सिफारिस समितिले पनि राजनीतिक दलको जिम्मेवारीमा रहेको व्यक्तिलाई जनाजान सिफारिस गरेको थियो । राजनीतिक पार्टीको जिम्मेवारीमा भएको व्यक्ति प्राधिकरणको अध्यक्ष बन्न मिल्ने देखिदैन । आवेदनका क्रममा उम्मेदवारले राजनीतिक सदस्यता भए/नभएको स्वघोषणा गर्ने व्यवस्था छ ।
शर्मा लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्ष भएका थिए । त्यसभन्दा अघि सिद्धार्थ बहुउद्देशीय सहकारीका अध्यक्ष पनि भएका छन् । राममणि क्याम्पसमा अध्यापन गरेका शर्मालाई क्याम्पस व्यवस्थापनले बर्खास्त गरेपछि सहकारी अभियानमा जोडिएका थिए । शैक्षिक रुपमा सहकारीमा विद्यावारिधि गरेका शर्मा सहकारी अभियन्ता हुन् ।
सहकारी ऐन २०७४ को दफा १०३ (ङ) बमोजिम लोक सेवा आयोगको संयोजकमा सिफारिस समिति गठन भएको थियो । समितिमा पूर्व सचिव सुमन शर्मा र विज्ञसदस्य गुणनिधि भुसाल विज्ञ सदस्य थिए ।