एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट भन्छन्– मैले एमाले छोडेको छैन

79

काठमाडौं – लेखराज भट्टले आफू एमालेमै रहेको बताएका छन् । सामाजिक सञ्जालमा एमाले सचिव भट्टले पार्टी परित्याग गरे‍को भनेर चर्चा भएपछि भट्टले आफू एमालेमै रहेको प्रस्ट पारेका हुन् ।

सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ’, भट्टले भने, ‘यो सबै कुरा भ्रम हो ।’

उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाइरहेका छन् । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’, सचिव भट्टले लेखेका छन् ।

पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सचिव लेखराज भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए । पछि उनले उक्त स्टाटस हटाएका थिए ।

समाचार वर्गहरू