ओलीविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

53

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ। जेनजी प्रदर्शनका क्रममा गोली चलाउन आदेश दिएको भन्दै ओलीविरूद्ध जाहेरी परेको हो।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएको बताए छन् । तर जिल्ला प्रशासन कार्यालय कार्यालय कपिलवस्तुले भने यो कुामा सत्यता नभएको जनाएको छ ।

जाहेरीमा गोली चलाउने आदेश ओलीले दिएको दाबी गरिएको छ। प्रदर्शनका क्रममा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै जना घाइते भएको जाहेरीमा उल्लेख छ।

जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे अनुसन्धान गरेर कानुनी कारबाही गर्न माग गरिएको छ। जाहेरीमा मृत्यु भएका युवाहरूको नाम पनि समावेश गरिएको छ।

कांग्रेस नेता साहले जाहेरी आफैँले लेखेको, तर बुझाउने ठाउँ नपाएको बताए । यसबारे नेपाल प्रेसले सोध्दा उनले भने, ‘नयाँ बानेश्वरमा पुलिस अफिस नै रहेनछ, अनि मैले जिल्ला प्रहरी भद्रकालीको इमेल आइडीमा मेल गरेको छु ।’

उनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत नेपाल सरकार, गृह मन्त्रालयले पाउने गरी पनि पठाएको बताए । ‘मैले होस् हवास र सुझबुझयुक्त रूपमै जाहेरी दिएको हो’, उनले भने ।

अभिषेकप्रताप कांग्रेसका निवर्तमान सांसद हुन् । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु ३ मा चुनाव जितेका थिए । ७० सालको चुनावमा पनि फोरमबाटै जिते । २०७४ सालमा भने कांग्रेस प्रवेश गरेर फेरि त्यही क्षेत्रबाट जिते । तर, ७९ को चुनावमा भने एमालेसँग हारेका थिए । भारतसँग सीमा जोडिएको कपिलवस्तुको कृष्णनगरमा उनको घर छ ।

समाचार वर्गहरू