काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको १ १ औँ महाधिवेशनका लागि पोखरेलले मंगलबार एक वक्तव्य जारी गर्दै आफू अध्यक्षमा लड्ने घोषणा गरेका हुन्।
उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझाव स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’
आफू राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको र जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन नदिएको उल्लेख गरेका छन्। ‘यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु।’
नेकपा एमालेको अधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ। ओलीले आफू तेस्रोपटक अध्यक्ष बन्नका लागि पार्टीको विधान संशोधन गरेका छन्।
पोखरेलले जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरुका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न कार्यकर्ताहरूलाई अपिल गरेका छन्।
वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतन्त्रीकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको, आठौँ, नवौँ र दसौँ राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनुपर्ने धारणा उनको छ। ‘पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्दछ। नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ’, वक्तव्यमा उल्लेख छ।
यसैगरी उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिलाइने उल्लेख गरेका छन्। ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो।’