काठमाडौं – कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।
उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका उनलाई बैंकको रकम हिनामिना प्रकरणमा पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।
रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन्।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए।