काँग्रेसमा ४० वर्षमुनिका युवालाई कम्तीमा २० प्रतिशत प्रतिनिधित्व माग

67

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आमचुनावमा ४० वर्षमुनिका युवालाई कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने माग प्रवेश भएको छ ।

पार्टी नेतृत्वसहित निर्णायक भूमिकामा ८० वर्ष आसपासको वर्चश्व रहेको कांग्रेसमा ४० वर्षमुनिको प्रतिनिधित्वको प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रवेश भएको हो ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य उर्मिला थपलियाले आमनिर्वाचन र केन्द्रीय समिति दुवैमा ४० वर्षमुनिको उमेर समूहबाट २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिन् । थपलियाले भनिन्, “पार्टीमा युवा प्रतिनिधित्व बढाउन पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छान्दा ४० वर्षमुनिबाट २० प्रतिशत युवा प्रतिनिधित्व अनिवार्य गर्नुपर्छ ।”

थपलियाले कांग्रेसको प्रदेश संरचनामा केन्द्रीय प्रतिनिधिले नै कब्जा गर्ने गरेको भन्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेशमा उमेदवारी दिन नपाउने प्रावधान राख्नुपर्ने बताइन् । “महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नु आवश्यक छ,।”

थपलियाले भनिन्, “केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ । त्यसो भएपछि प्रदेश प्रतिनिधिहरू नै प्रदेश कार्यसमितिमा आउने वातावरण बन्छ ।”

समाचार वर्गहरू