काठमाडौं — कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिमा आवद्ध पार्टीका शुभचिन्तकहरूलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।
अबदेखि विदेशी नागरिकता प्राप्त व्यक्तिहरूले जनसम्पर्क समितिको सदस्यता र नागरिकता नलिएकाहरूले क्रियाशील सदस्यता पाउने भएका हुन् । नागरिकता प्राप्त व्यक्तिहरू जनसम्पर्क समितिको पदाधिकारी चयन गर्न पाउने भएपनि पार्टी महाधिवेशनमा भोटर हुने अवसरबाट भने बन्चित हुने भएका छन । यसअघि पार्टीमा यस्तो व्यवस्था थिएन ।
‘अब नागरिकता प्राप्त एनआरएन जनसम्पर्क समितिको सदस्य हुन पाउँछन्। तर पार्टीको भोटर भएर आउन पाउदैनन् । भोटर हुनका लागि क्रियाशील सदस्यता नै हुनुपर्छ, क्रियाशील सदस्यता भएकाहरूले मात्रै महाधिवेशन प्रतिनिधि भएर आउन पाउँछन्,’ केन्द्रीय सदस्य तथा प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने ।
काँग्रेसको विधानमा ‘पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनेछ’ निर्णयमा भनिएको छ ।
जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था पनि आइतबारको निर्णयसंगै हटेको छ ।