कांग्रेसमा संस्थापन पक्षको गोप्य भेला

161

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेका बेला संस्थापन पक्षले आन्तरिक भेला गरेको छ।

शनिबार ललितपुरको सानेपास्थित सिद्धार्थ होटेलमा नेपाली कांग्रेस संस्थापन पक्षको गोप्य भेला भएको हो।

असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको थियो। सो बैठक बस्नुअघि संस्थापन पक्षले आफ्नो रणनीति तयार गर्न भेला गरेको हो।

भेलामा सहभागी भएकाहरूले महाधिवेशनको समय लम्ब्याउने विषयमा छलफल गरेका थिए। छलफलमा जारी केन्द्रीय समिति बैठक र १५ औं महाधिवेशनको कार्यतालिकाबारे गहन विमर्श भएको बताइएपनि विशेष महाधिवेशन आह्वानका लागि गरिएको हस्ताक्षर अभियानको विषयमा छलफल भएको थियो।

शनिबार केही नेताहरू बसेर छलफल भएको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पुष्टि गरे। ‘भेटघाट हुनु छलफल हुनु सामान्य हो’, उनले भने।

भेलाको संयोजन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए। छलफलमा १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरू सहभागी भएको बताइएको छ।

विजय गच्छदार र गोपालमान श्रेष्ठ उपत्यका बाहिर रहेका कारण उनीहरूको उपस्थिति भएका थिएनन्। भेलामा सहभागी एक नेताका अनुसार खड्काको नेतृत्वमा बसेको संस्थापन पक्षको छलफलमा डा. शंशाक कोइराला पनि उपस्थित रहेका थिए। ‘मिल्ने र मिलाउने कुरा भयो,’ सहभागी एक सदस्यले भने।

छलफलमा संस्थापन निकट रहेका नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, किशोरसिंह राठौर, डिला शर्मा, रमेश लेखक, बालकृष्ण खाँण, एनपी साउद प्रदेश सभापति इन्द्र बानिया लगायतका नेताहरू सहभागी भएका थिए।

कांग्रेसको १५ औं महाधिवेशन मंसिरभित्रै हुनुपर्ने भन्दै महामन्त्री द्वय थापा र शर्माले हस्ताक्षर सङ्कलन गराएका थिए भने शेखर कोइरालाले पनि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए।

कांग्रेस विधानमा महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित केन्द्रीय समितिमा निवेदन दिएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था भए बमोजिम ४० प्रतिशत बढीको हस्ताक्षर सङ्कलन भइसकेको थियो।

समाचार वर्गहरू