काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए ।
सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको उनले बताए । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।
उनले भने, ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको छ ।
त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको खुट्टामा छ ।’
सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले विरोधाभासपूर्ण र विवादास्पद हुँदाहुँदै स्वीकार गरेर अघि बढ्ने बताए।
उनले अदालतमा आफ्नो दाबी विरोध लिएर गइराखेका बेलामा दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिनुलाई स्वाभाविक भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दै गर्दा पार्टीका उपसभापति एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापति भनेरै त्यहाँ मुद्दा दर्ता गरेको हुँदा उहाँलाई कार्यवाहक सभापति भन्नलाई कुनै अप्ठ्यारो थिएन र निरन्तर भनिरहनुभएको थियो ।
तर हिजोदेखि जब फैसला भयो उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो हिजोदेखि, हैन रु त्यसलाई हामीले स्वीकारेका छौँ । तर यहाँलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद कुरा हो ।’ उनले पार्टीका नेता विमलेन्द्र निधीले अदालतको फैसला मान्दिनँ नभनेको जिकिर गरे । १५ औँ महाधिवेशनबाट दुवै पक्ष मिलेर गरे मात्र पार्टी मजबुत हुने उनको भनाइ छ ।