काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको बताएका छन् ।
सोमबार बीपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेखेको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उनले जनताको विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए।
उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे। ‘नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ। राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ,’ महामन्त्री थापाले भने।
उनले बीपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए।
‘साहित्य जगतमा बीपीबारे धेरै लेखिएका छन्। तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो। पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ,’ थापाले भने।
लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बीपी कोइरालालाई चिन्ने बताए।