कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् – वर्षमान पुन

77

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग वाक्क भएर कांग्रेसले विकल्प खोजिरहेको पुनको दाबी छ।

रुकुम पूर्वको भूमेमा माओवादीको अधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेस नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए।

‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिष्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ। कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा-एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ। उहाँहरू विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ। हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं,’ उनले भने।

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए। ‘हामी अब सरकारमा जाने होइन। ०८४ सम्म जादैनौं भनेका छौं। हिजो हामी क्रान्तिकारी शक्ति थियौं। कांग्रेस- एमालेसँग मिल्दा उनीहरूजस्तै हो कि भनेजस्तो देखियो। तर, होइन। हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने।

समाचार वर्गहरू