कांग्रेस महाधिवेशनको मिति तोकिएन, संविधान संशोधनका लागि संवाद थालिने

123

काठमाडौं – सत्तारूढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टीको १५औं महाधिवेशनको कार्यतालिका निर्माण गर्न असफल भएको छ।

यही असार १६ गते सुरु भई सोमबारसम्म चलेको बैठक महाधिवेशनको कार्यतालिका निर्माण गर्न असफल भएको हो। आगामी असोजमा बस्ने बैठकबाट मात्र महाधिवेशनको प्रस्तावित कार्यतालिका ल्याउने बताइएको छ।

पार्टीका अधिकांश सदस्यले १५औं महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरे पनि आगामी असोजमा बस्ने बैठकले मात्र त्यस विषयमा निर्णय लिने भएको हो। सोही बैठकले पार्टी विधानअनुसार कार्यकाल थपको निर्णय पनि लिनेछ। कांग्रेस विधानले पार्टीका सबै तहको कार्यकाल चार वर्षको हुने उल्लेख गरेको छ।

विधानअनुसार नै एक वर्ष समय थप गर्न सकिनेछ। विधानअनुसार पहिलो चार वर्ष आगामी मंसिरमा पूरा हुनेछ। बैठकले केपी ओलीको नेतृत्वमा सरकार गठनपूर्व कांग्रेस र नेकपा एमालेबिचको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढाउन पार्टीले पहल लिने निर्णय गरेको छ।

पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने निर्णय गर्दै कांग्रेसले अन्य राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवालासँग पनि संवाद चलाउने निर्णय गरेको छ। कांग्रेस नेतृत्वमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन गर्ने प्रमुख दायित्व र जिम्मेवारी आफ्नो पार्टीको भएको उसले ठहर गरेको छ। त्यसका लागि कांग्रेसले पुन: पूर्ण प्रतिबद्धता जनाएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको १५औं महाधिवेशनका विषयमा कुनै निर्णय नभएको जानकारी दिए। ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन,’ कांग्रेस प्रवक्ता महतले बैठकपछि भने, ‘संविधान संशोधनका विषयमा पार्टीले अग्रसरता लिनेछ।’

बैठकले कृषि क्षेत्रका लागि आवश्यक पर्ने मलखाद बिक्री–वितरणलाई प्रभावकारी नभएको भन्दै सरकारलाई तत्काल त्यसको सहज व्यवस्था गर्न सरकारसँग कांग्रेसले माग गरेको छ।

कांग्रेस समय गुजारेका भ्रातृ संगठनहरूको कार्यकाल थप गर्दै महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेको छ। त्यस्तै पार्टीका जनसम्पर्क समितिहरूको अधिवेशन पुसभित्र गर्ने निर्देशन दिने निर्णय गरेको छ। पार्टी नेताहरूले फेरि प्रदेश र जिल्ला तहमा खटाउनेसहितका निर्णय कांग्रेसले गरेको छ।

समाचार वर्गहरू