कांग्रेस महामन्त्री थापाद्वारा मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव

55
तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं — पार्टीभित्र सहमति नजुटेपछि कांग्रेस महामन्त्री गगन थापाले मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सकिने कार्यतालिका सार्वजनिक गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि बिहीबार बिहानको कार्यसम्पादन समितिको बैठकमा थापाले वडादेखि केन्द्रसम्मका सबै तहका अधिवेशनको तालिका प्रस्ताव गरेका थिए । केन्द्रीय कार्यसमितिमा एजेन्डा लैजान छलफलमा ल्याएको उक्त प्रस्तावलाई संस्थापनपक्षीय नेताहरूले नमानेपछि थापाले शुक्रबार सबैको जानकारीका लागि सार्वजनिक गरेका हुन् ।

थापाले सार्वजनिक गरेको तालिकामा कात्तिक २१ गतेभित्र क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यताको टुंगो लगाएर अधिवेशन सुरु गरिने उल्लेख छ ।

थापाको प्रस्ताव अनुसार कात्तिक २१ गतेसम्म नयाँ र नवीकरण सदस्यता टुंग्याउने, कात्तिक मसान्तभित्र निर्वाचन समितिलाई सदस्यताको नामावली बुझाउने, मंसिर ५ मा देशभर एकैदिन वडा अधिवेशन, मंसिर ८ मा गाउँ/नगर, उपमहानगर/महानगरपालिकाको अधिवेशन गर्ने, मंसिर १२ मा प्रदेशसभा र क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ । त्यसैगरी मंसिर १५ मा प्रतिनिधिसभा क्षेत्रीय र त्यसैदिन विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन गर्ने, मंसिर १८ मा जिल्ला, मंसिर २१ मा प्रदेश अधिवेशन सम्पन्न गरेर मंसिर २७–२९ गतेसम्म केन्द्रीय अधिवेशन गर्ने प्रस्ताव छ ।

केन्द्रीय कार्यसमिति र कार्यसम्पादन दुवैमा संस्थापन पक्षको बाहुल्य रहेकाले महामन्त्री थापाको उक्त प्रस्ताव औपचारिक रूपमा अघि बढ्न पाएको छैन ।

‘मंसिरभित्रै नियमित महाधिवेशन गर्न तयार नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्छ र त्यसको तयारी पनि सँगसँगै गर्नुपर्छ भन्ने महामन्त्री थापाको योजना छ,’ थापा निकट एक केन्द्रीय सदस्यले भने ।

समाचार वर्गहरू