कारबाहीपछि आक्रामक रावल : औपचारिक प्रतिवाद, देश दौडाहा र नयाँ पार्टी गठनसम्मको तयारी

92

काठमाडौं – पार्टीबाट निष्कासन गर्ने केन्द्रीय सचिवालयको निर्णयविरुद्ध एमाले पूर्वउपाध्यक्ष भीम रावल औपचारिक प्रतिवादमा उत्रने भएका छन् । दुई–तीन दिनभित्र पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपको खण्डन र प्रतिवाद गर्ने तथा आगामी कदम सार्वजनिक गर्ने उनको तयारी छ ।

रावलको प्रहार एमालेभन्दा अध्यक्ष केपी ओलीमाथि केन्द्रित छ । निरन्तर पार्टी नीति र नेतृत्वविरुद्ध लागेको आरोपमा रावललाई बुधबार केन्द्रीय सचिवालय बैठकले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनीसँगै स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना पार्टीको जिम्मेवारीबाट ६ महिनासम्म निलम्बनमा परेका छन् ।

कारबाहीपछि देशभरका असन्तुष्ट नेता–कार्यकर्तासँग सम्पर्कमा रहेका रावलले पत्रकार सम्मेलनलगत्तै नयाँ कदमका लागि देश दौडाहामा निस्कने तयारीसमेत गरेका छन् । उनीनिकट नेताहरूका अनुसार ओलीकै योजनामा कारबाही भएका कारण फिर्ता हुने सम्भावना कम रहेकाले रावलले देश दौडाह सकेपछि आउने प्रतिक्रिया र सुझावका आधारमा नयाँ पार्टी खोल्न सक्ने सम्भावना औँल्याएका छन् ।

‘उहाँ अहिले देशभर सम्पर्कमा हुनुहुन्छ र सबैको सुझाव लिइरहनुभएको छ । नेकपा एसलगायतका पार्टीमा जाने उहाँको योजना देखिन्न । उहाँसामु अब नयाँ पार्टी बनाउने मात्र विकल्प बाँकी छ । तर, उहाँ हतार गरिहाल्ने पक्षमा पनि हुनुहुन्न,’ उनीनिकट एक नेताले भने ।  यसबारे, रावल स्वयंले भने मुख खोलिसकेका छैनन् ।

ओलीले देशभक्त इमानदार मानिसहरूमाथि प्रहार गरेको र यसमा आफू आश्चर्यमा नपरेको रावलको भनाइ छ । ‘एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यताबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’ रावलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं बिचौलिया दलालहरूलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसहरूमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।’

तत्कालका लागि उनले ओलीको निरंकुश र अन्यायपूर्ण कदमका विरुद्ध साथ दिन देशभरका नेता–कार्यकर्तासँग अपिल गरेका छन् । ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले लेखेका छन् ।

रावलसहित पाण्डे र तिमिल्सिनामाथिको कारबाहीले एमालेपंक्तिसहित समग्र देशको राजनीति वृत्तमा तरंग पैदा गरेको छ । एमालेभित्रको पंक्तिमा कारबाहीबारे समर्थन र विरोधमा मिश्रित प्रतिक्रिया देखिएको छ । बाहिरको पंक्तिले सामाजिक सञ्जालमा कारबाहीको विरोध छ ।

महासचिव शंकर पोखरेलले आर्टिफिसियल इन्टिलिजेन्स(एआई)लाई उद्धृत गरेर पार्टीको अनुशासनको महत्वमाथि प्रकाश पार्दै सचिवालयको निर्णयको प्रतिरक्षा गरेका छन् । पार्टीभित्र संगठनात्मक एकता कायम राख्न, नेतृत्वलाई बलियो बनाउन अनुशासन आवश्यक रहेको पोखरेलले जिकिर गरेका छन् । ‘अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ । अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ । अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो हुन्छ । अनुशासन नभए नेतृत्व कमजोर हुन्छ,’ पोखरेलले भनेका छन् ।

पूर्वकानुनमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य पदम गिरीले रावल कारबाहीमा पर्नुका कारण प्रस्ट्याउँदै भ्रममा नपर्न पार्टीपंक्तिलाई सचेत गराएका छन् । रावलले २०४६ सालदेखि ०७२ सम्म २६ वर्ष निरन्तर राजकीय नियुक्तिलगायतका महत्वपूर्ण अवसर पाएको दृष्टान्तसमेत उनले दिएका छन् । रावलमाथिको कारबाहीलाई उनले अराजकताविरुद्ध चालिएको कदमका रूपमा व्याख्या गरेका छन् ।

‘आफू असली राष्ट्रवादी बाँकी सबै घाती देखाउने अनुशासनहीन गतिविधि खुलेआम गरिरहनुभयो । पार्र्टी कार्यालय भवन बनाउने पार्टी निर्णयका विषयमा पार्टीमा होइन पब्लिक खपतका निम्ति बाहिर बोलिरहनुभयो । सो सम्बन्धमा किन त्यसरी बोलिरहनुभएको भनी स्पष्टीकरण माग्दा जवाफसमेत दिनुभएन,’ गिरीले भनेका छन्, ‘के यसैगरी मनलाग्दी बोल्ने, पार्टी हितविरुद्ध गतिविधि गरिरहँदा पनि रमिता हेरेर बस्ने हो भने भोलि सयौँ भीम रावल जन्माएर अराजकता हुर्काउने ? त्यसैले जो कोही पार्टी विधि–विधान र अनुशासनमा बस्नै पर्दछ अन्यथा कम्युनिस्ट पार्टी अराजकताको सिकार बन्ने र समाप्तिको बाटोमा पुग्न कसैले रोक्न सक्दैन ।’

उता, रावलनिकट केन्द्रीय सदस्य तथा पूर्वसांसद झपट रावलले भने कारबाहीको दुःखद निर्णयले पार्टीलाई क्षति पुग्ने भन्दै फिर्ता लिनुबाहेकको विकल्प नभएको बताए । ‘हिजोका दिनमा अध्यक्षले नै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको नीति अगाडि सार्नुभो, पार्टीभित्र त्यसअनुसार नै अभ्यास पनि भयो । तर, आज उहाँले नै अध्यक्षमा लडेकै कारण भीम रावललाई जिम्मेवारीविहीन बनाउनुभयो र अन्ततः पार्टीविहीन बनाएर निकाल्नुभो,’ उनले भने, ‘त्यसैले यो गम्भीर र दुःखद निर्णय हो । उहाँमाथिको कारबाही आन्तरिक लोकतन्त्रको हिसाबले बेठिक छ । यसले सुदूरपश्चिममा मात्र होइन, देशभरि ठुलो क्षति पुग्न सक्छ । उहाँ पार्टी नछाड्ने पक्षमा हुनुहुन्थ्यो, हामीले पनि त्यही आग्रह गरिरह्यौँ । तर, पार्टीबाटै निकालेपछि अब उहाँसामु धेरै विकल्प छैनन् । त्यसैले पार्टीले निर्णय सच्याउनेबाहेक अरू कुनै विकल्प छैन ।’

कारबाहीको निर्णयले विरोधीहरू खुसी भएको उनले टिप्पणी गरे । ‘मलाई भीम रावलमाथिको कारबाहीभन्दा पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गर्ने अध्यक्षले नै यस्तो अप्रिय निर्णय सच्याउनुभएन भने जीवनको उत्तरार्द्धमा मात्र होइन, इतिहासले उहाँमाथि अन्यथा मूल्यांकन गर्ला कि भन्नेचाहिँ ठुलो चिन्ता छ,’ उनले भनेका छन्, ‘हामीले विचार नमिल्नेहरूलाई त पार्टी बलियो बनाउने भन्दै भित्र्याइरहेका छौँ भने रावललाई निकाल्दा विरोधीले के आरोप लगाउँछन् ? अहिले विरोधी पार्टीहरू पछिल्लो निर्णयबाट बलियो हुने भयौँ भनेर धेरै खुसी देखिएका छन् ।’

त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेतृ विमला राई पौड्यालले पनि कारबाहीको निर्णयको विरोध गरेकी छिन् । ‘गलत भयो । नेकपा एमाले बनाउने बलियो इमानदार पिलरको नाम हो विन्दा पाण्डे । बच्चैदेखि पार्टीको सिपाही उषाकिरण । मनका कुरा खुला जनमानसमा गर्दा कारबाहीमा पर्नुहुँदैन,’ सामाजिक सञ्जाल एक्समा उनले भनेकी छिन् । नयाँपत्रिका दैनिक

समाचार वर्गहरू