कार्की नेतृत्वको सरकारमा जेनजी उमेर समूहका एक्ला मन्त्री गुप्ता

90

काठमाडौं – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरे। त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आफूले मन्त्रालयका कर्मचारीसँग बसेर कार्ययोजना बनाएर काम गर्ने बताए।

उनले भने–‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि ।’

आज खेलकुद मन्त्री बनेका गुप्ता जेनजी उमेर समूहका सबैभन्दा कान्छा मन्त्री हुन् । २६ वर्षको उमेरमै मन्त्री बनेका गुप्ता जेनजी आन्दोलनको अग्रपंक्तिमा थिए । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित आन्दोलनमा उत्रिएका उनी २३ गते दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत बानेश्वर चोकमा नारा लगाउँदै थिए ।

परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरेका गुप्ता अन्ततः मन्त्री बन्न सफल भए ।

सिरहाको लहान स्थायी घर भएका बब्लु गुप्ताले गाउँबाट आएका मानिसहरूलाई वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र काठमाडौंमा बिरामी हुँदा रगतको अभाव भएकाहरूलाई सहयोग गर्न सहज होस् भन्ने उद्देश्यले ‘१०० ग्रुप’ नामक सामाजिक समूहको स्थापना गरे। यो समूहलाई सुरुमा रगत खोज्ने ‘सारथि’ का रूपमा धेरैले विश्वास गर्न थाले।

गुप्ता र उनको संस्था उनको ‘हन्ड्रेड ग्रुप’ विश्वव्यापी कोभिड–१९ महामारीका बेला राजधानीमा मजदूरी गरिरहेका र भोकै परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाए । सुरुमा शंखमूलमा रहेको चार आना खाली जग्गाबाट सुरु भएको यो अभियानले रत्नपार्कको खुलामञ्चमा समेत हजारौं मानिसलाई खाना खुवायो।

कोभिडअघि नै बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई सहयोग गर्न ‘कपडा बैंक’ अभियान चलाए। विदेशमा सडकमा पुरानो सामान राख्ने कन्टेनर देखेर प्रेरित भई ल्याइएको यो अवधारणालाई नेपालमा व्यापक चर्चा पायो।

अनामनगरबाट सुरु भएको कपडा बैंक पछि जावलाखेल, कलंकी हुँदै रुपन्देहीको सैनामैनासम्म पुग्यो। संकलित कपडा विशेषगरी ज्याला मजदूरी गरिरहेका मानिसले आएर लैजान सक्ने व्यवस्था गरिएको थियो।

यससँगै उनले ‘किताब बैंक’ को अवधारणा पनि ल्याए, जहाँ नयाँ किताब किन्न नसक्ने विद्यार्थीलाई पुरानो किताब दिएर सहयोग गर्न सकियोस् भन्ने उद्देश्य राखिएको थियो।

गुप्ताको समूह अहिले ‘प्रोजेक्ट शिक्षा’ नामक नयाँ अभियानमा जोडिएको छ। यस मार्फत हन्ड्रेड ग्रुपले गरिब तथा विपन्न वर्गका ११० जना विद्यार्थी छानेर काठमाडौंमा खान, बस्न सुविधा सहित पढाइरहेको छ।

गुह्येश्वरीमा सहयोगी दाताहरूको सहयोगमा बनेको १०० ग्रुपको भवनमा ती विद्यार्थीहरूले अध्ययनको अवसर पाएका छन्। बब्लु आफैंले भने जीविकोपार्जनका लागि एक होस्टल र चिया पसल चलाइरहेका छन्।

उनै गुप्ता अन्ततः समाजसेवा हुँदै राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि नै सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका बब्लु जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

हुनत छोटो समयका लागि चुनावी सरकारको मन्त्री बनेका गुप्ताले गर्नुपर्ने धेरै काम छन् । तर, समय अभाव नखड्केला भन्न सकिन्न । तर, गरेर देखाउनु पर्ने बाध्यता उनीमाथि छ ।

समाचार वर्गहरू