कृषि विकास बैंकका शाखा अधिकृत सहित ८ विरुद्ध मुद्दा दायर

17

(काठमाडाैं) –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भुका तत्कालीन शाखा अधिकृत सहित ८ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

कृषि विकास बैंक स्वयम्भुका शाखा अधिकृत केदार प्रसाद गौतम समेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

उनीहरूलाई जनही सोही बराबरको बिगो तथा सजाय माग गरिएको छ। आठ जनाविरूद्ध दुई अर्ब ७१ करोड ४४ लाख बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकहरुबाट इसीसी (इलेक्ट्रोलिक चेक क्लियरिङ्ग) मार्फत भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ ।

यस्तै, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेका, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ्ग सिस्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने र बैंकलाई हानी नोक्सानी पुर्याउने कार्य गरेको आरोप छ ।

बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भन्दै उनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो ।

साथै सम्झना पोखरेल, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी र्पुयाएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सजायको मागदावी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

समाचार वर्गहरू