‘खानेपानी मन्त्रीलाई मेलम्ची खोला कहाँ छ भन्ने समेत थाहा छैन’ – अध्यक्ष शेर्पा

130

काठमाडौं – उपत्यकावासीका लागि यो बर्ष वर्षायाममा पनि मेलम्ची खानेपानीको आपूर्तिले निरन्तरता पाएको छ। विगतका बर्षमा यो समयमा मेलम्चीको पानि बन्द हुँदै आएकोमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको पहलमा यो बर्ष मेलम्ची खानेपानीको आपूर्तिले निरन्तरता पाएको हो ।

अध्यक्षको पहलमा पानि पथान्तरण गरिएपनि यस उपलब्धिको श्रेय भने खानेपानी मन्त्री प्रदिप यादवले लिन खोजेका छन् । तर मेलम्ची खानेपानी आयोजना र मुहान क्षेत्रको वास्तविकता मन्त्रीलाई समेत थाहा नभएको हेलम्बु गाउँपालिकाको दाबी छ।

गाउँपालिका अध्यक्ष शेर्पाले आफूले नदिएको दबाब र पहल नगरेको भए यो बर्खामा पनि उपत्यकामा पानी आउन सम्भव नहुने दाबी गरेका छन्। ‘मन्त्रीलाई त मेलम्चीको खोला कहाँ छ भन्ने समेत थाहा छैन। तर श्रेय लिन भने चाँडै गर्छन्। यथार्थ भनेको हामीले स्थानीय तहको नाताले निरन्तर दबाब नदिएको भए यो वर्ष पनि मेलम्ची बन्द नै हुने थियो,’ अध्यक्ष शेर्पाले तीव्र प्रतिक्रिया दिए।

बर्खायाम सुरु हुनुअघि नै मेलम्ची क्षेत्रमा सम्भावित जोखिम, बाढी, पहिरो र कटानको आकलन गर्दै अध्यक्ष शेर्पाले संघीय सरकार र खानेपानी विकास समितिलाई पटकपटक लिखित र मौखिक रूपमा आग्रह गरेका थिए।

तर, संघीय सरकारबाट समयमै प्रतिक्रिया नआएपछि पालिका आफैंले जोखिम न्यूनीकरण र संरक्षणको लागि पूर्वाधार मर्मत, सुरक्षा संयन्त्र र स्थानीयको सहयोगमा काम अघि बढाएको अध्यक्ष शेर्पाले बताए।

उनका अनुसार, पालिकाले खानेपानी विकास समितिलाई आधिकारिकरूपमा पटकपटक दबाब दिँदै मात्रै पानी खोल्ने निर्णय गर्न लगाएको हो । ‘हामीले बारम्बार दबाब नदिएको भए संघीय तह र मन्त्रालयले चासो दिनेवाला थिएनन्। पानी खोल्ने निर्णय पनि खानेपानी विकास समितिले हाम्रो दबाबपछि मात्रै गरेको हो,’ मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य समेत रहेका अध्यक्ष शेर्पाले प्रष्ट पारे।

मेलम्ची खानेपानी आपूर्ति बर्खायाममा हुँदा काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दाले पानीका लागि केही सहजता पाएका छन्। तर मूल स्रोत क्षेत्र हेलम्बुका जनता भने संघीय सरकार र खानेपानी मन्त्रालयको बेवास्ताले आक्रोशित छन्। ‘हाम्रो मुहान, हाम्रो जमिन, हाम्रो जोखिम तर लाभ भने उपत्यकाले मात्रै लिने ? यसरी कतिञ्जेल धैर्य गर्ने ?’, स्थानीयले प्रश्न गरेका छन्।

यदि सरकारले हेलम्बुबासीका मागलाई सम्बोधन नगरे मेलम्ची आयोजनामा असहजता सिर्जना हुने र उपत्यकामा फेरि पानी संकट निम्तिन सक्ने खतरा बढेको देखिन्छ।

समाचार वर्गहरू