गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले पुग्दैन – शिक्षामन्त्री भट्टराई

23

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई गुणस्तरीय दिवा खाजाका लागि १५ रुपैयाँले नपुग्ने बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनले निःशुल्क शिक्षा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको र त्यसको एकपाटो दिवा खाजा पनि रहेको बताइन्।

उनले निःशुल्क शिक्षामा काम गर्ने विकास साझेदार संस्थाहरूसँग गुणस्तरीय खाजा उपलब्ध गराउन सहकार्य गरिने बताइन्।

‘१५ रुपैयाँले आफैँमा गुणस्तरीय खाजा दिन सक्दैन। हाम्रा स्थानीय उत्पादनलाई जोडेर मात्र गुणस्तरीय खाज सम्भव हुन्छ। यसका लागि कार्यविधि बनाएर अगाडि बढेका छौँ’,उनले भनिन्।

मन्त्री भट्टराईले मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही गर्ने बताएकी छन्। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालित ५९ वटा कलेजमध्ये १४ वटाले मात्र प्रक्रिया र मापदण्ड पूरा गरेको प्रतिवेदन मन्त्रालयले गठन गरेको कार्यदलले दिएको बताइन्।

उनले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा गठन गरेको कार्यदलले यस्ता कलेजलाई निर्देशिका बनाएर नियमन गर्नुपर्ने सुझाव दिएको भए पनि त्यो पूर्ण नभएकाले अर्को कार्यदल बनाएको स्पष्ट पारिन्।

समाचार वर्गहरू