चर्चामा रहेका भ्रष्टाचार गर्ने नेताका सम्पत्ति छानबिन गरौं – गगन थापा

30

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म चर्चामा रहेका भ्रष्टाचार गर्ने नेताका सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्‍बाट उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने बताए ।

‘एकले अर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा अवकाश प्राप्त कुनै प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौँ,’ सांसद थापाले भने,‘ समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी सबैलाई कारबाही गरौँ ।’

‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔं । आयोग बनाउने हो भने पनि बनाऔं,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौं । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौं । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिउँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔं ।’

भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्ने र त्यसको भारी कांग्रेसले नबोक्ने बताए । उनले भने, ‘सिंगो कर्मचारी तन्त्रले भ्रष्टचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिंगो नेपालका नेताहरुले गर्छन त । गर्दैनन् नि त । व्यक्तिले गर्छ नि ।’

राजावादीप्रति लक्षित गर्दै महामन्त्री थापाले जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने बताए ।

समाचार वर्गहरू