छठको दोस्रो दिन आज खरना

56
तस्बिर : अरुणकुमार यादव/रासस ।

महोत्तरी – छठ पर्वको दोस्रो दिन बर्तालु खरना विधिको तयारी गर्दै छन् ।  शनिबार (कात्तिक ८) कात्तिक शुक्ल चतुर्थीमा नहाय खाय विधिबाट पर्व सुरु गरेका बर्तालु आज (कात्तिक ९) पञ्चमी तिथिका दिन खरनाको तयारीमा लागेका हुन् ।

बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई चढाउने परम्परा छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कुलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरूप खाने चलन छ । यो विधिलाई मिथिलामा खरना भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आएको छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका निम्ति उसिना चामल, लसुनप्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्य परिकार खाँदैनन् । मैथिली बोलीचालीमा अर्बा (नउसिनिएको अन्न) खाइने यो विधिलाई अर्बा–अर्बाइन पनि भनिन्छ । नहाय–खाय र अर्बा–अर्बाइन एकार्कासँग जोडिएका एकैदिनका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरू सदस्यले प्रसादका रूपमा खाने गर्छन् । यस दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपश्चात् चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् ।

खरनालाई  स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् ।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ  । यो मुख्य विधि सोमबार (कात्तिक १०) सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढंगले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा सझुका अरख वा सझियाघाट भन्ने गरिएको छ ।

यस्तै, सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा  भोरका अरख र पारन पनि भनिन्छ । बर्तालुले खरना विधिसँगै प्रसादस्वरूप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकीजाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्त्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दु र अरू धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा बन्दै गएको छ । सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनेको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले बताए । रासस

समाचार वर्गहरू