जनमतले मधेश मुख्यमन्त्रीबाट सतिश सिंहलाई फिर्ता बोलायो

58

काठमाडौं – जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सरकारको नेतृत्वबाट फिर्ता बोलाएको छ।  मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार नभएपछि जनमत पार्टीको प्रदेश संसदीय दलले सिंहलाई फिर्ता बोलाएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीका साथै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाइएको संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए।

सरकारबाट समर्थन फिर्ताका साथै मुख्यमन्त्री तथा मन्त्रीलाई फिर्ता बोलाइएको जानकारीसहितको पत्र जनमत पार्टीको संसदीय दलले प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।

जेनजी आन्दोलन उग्र बनेपछि मुख्यमन्त्री सिंहले २४ भदौमा सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

सामाजिक सञ्जालमा घोषणा गरेर सिंहल औपचारिक रूपमा राजीनामा नदिएपछि चौतर्फी आलोचना भएको थियो। उनले आफूले राजीनामा नदिएको दाबी गरेका थिए। अरूलाई मुख्यमन्त्री बनाउन आफूले किन राजीनामा दिने उनको भनाइ थियो।

सामाजिक सञ्जालमार्फत घोषणा गरेर पनि आधिकारिक रूपमा राजीनामा दिन तयार नभएपछि जनमत पार्टीले उनीमाथि दबाब बढाएको थियो।राजीनामा नदिए फिर्ता बोलाउनसम्मको चेतावनी पार्टीले सिंहलाई दिएको थियो। आधिकारिक रूपमा राजीनामा नदिएपछि पार्टीले सिंहलाई फिर्ता बोलाएको हो।

 

समाचार वर्गहरू