जस्ता नेता, उस्तै पत्रकार : कि पत्रकारिता छोड् कि दलको सदस्यात !!!

216

रोशन कार्की

नेपालमा पछिल्लो समयमा स्मार्ट फोन बोक्ने र दलको गुणगान गाउने पत्रकारको बिगबिगी भएको छ । खल्तीमा स्मार्ट फोन, दलको परिचय पत्र र पत्रकारको कार्ड बोकेर नीजि जीवनमा समेत अन्धधुन्ध धाराप्रवाह भट्भटाउनेहरु (विशेषगरि युटुव) अहिले देशका ठूला पत्रकार भएको हुँकार गर्ने गरेका छन । तर, बास्तवमा ति पत्रकारको सूचीमा छैनन् नभएपनि सरकारी निकाय र पत्रकारसंग आबद्ध संघसंस्थाले आँखा चिम्लिएका कारण बास्तविक श्रमजीवि पत्रकारहरु अहिले विस्तापित हुने अन्तिम घेरामा पुगेका छन् । नेपाल पत्रकार महासंघमा आबद्ध १३ हजारभन्दा बढी पत्रकारमध्ये अधिकांशको कर्म र मूल आयस्रोत पत्रकारिता नभएको भनाई महासंघका पदाधिकारीनै स्वीकारेका छन । पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ, जो ‘पत्रकार’ भनिन्छन्, तर पत्रकारिता गर्दैनन् । ठूला मूलधारका र संस्थागत रूपमा अघि बढेका सञ्चारमाध्यम र त्यहाँ कार्यरत सञ्चारकर्मीको मूल प्रवृत्ति यो देखिन्न । विना पत्रकारिताका पत्रकारले तिनका भूमिका र योगदानलाई ओझेलमा पार्दै गैरपत्रकारहरुको बोलवाला बढ्दै गएको छ । पत्रकारितालाई देखाउने दाँत बनाएर राजनीति, दलाली र सौदाबाजी गर्नेहरू अहिले सकृय भएका छन ।

उनीहरु कुनै न कुनै दलको सरक्षणमा रहेका छन् । उद्देश्य, कार्यशैली र स्वार्थका आधारमा विना पत्रकारिताका पत्रकारका कैयौँ भेटिएका छन् । कुनैमा पत्रकारिताका व्यवहार र लक्षणा देखिन्छ, तर उद्देश्य अर्कै रहेको छ  । कतिपयमा गुण र लक्षण रत्तिभर देखिन्न, तर गलामा सूचना विभागको ‘प्रेस कार्ड’ देखि गाडीसम्म ‘प्रेस’ टाँसेर पत्रकारकै हुर्मत लिदै आएका छन् । पत्रकारिता राजनीतिक पक्षधरता र स्वार्थबाट निरपेक्ष र स्वतन्त्र पेसा हो । पत्रकारिताबाट राजनीति, कूटनीति वा प्राज्ञिक क्षेत्रमा प्रवेश गर्न नसकिने होइन । तर, पत्रकारिताका आदर्श र आचारसंहिता पालना गर्ने मिडिया तथा मिडियाकर्मी नभएका होइनन् । ती सीमित हुँदै गएका छन् । व्यवहारमा चाहिँ पत्रकारिताको आवरणमा राजनीति र दलीय चाकरी गर्ने प्रवृत्ति बढ्दो छ । दलीय पत्रकारिता यतिसम्म झाँगिएको छ ।

प्रधानमन्त्री कुन दलको बन्छ सोही दलको पत्रकारहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी गर्न पुग्छन । दलगत रुपमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र प्रेस मञ्च नेपाल, प्रेस चौतारी नेपाल नामक संस्थाहरु श्रमजीवि पत्रकारको टाउको बेचेर पत्रकारिताको नै हुर्मत लिनेको सूचीको अग्रपक्तिमा रहेका छन् । पत्रकारका अगुवाहरू नै दलीय पक्षधरतामा उत्रिएपछि समग्र पत्रकार तथा पत्रकारिता पेसाकै निष्ठा र निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक बन्दै गएको छ  । नेताको सल्लाहकार बन्नेको मौसमी जागिर खाने पनि उनै दलका पत्रकारहरु हुने गर्दछन । दलको बफादार बने कुनै योग्यात समेत नचाहिने गरेको छ गुलामी पत्रकारिता गरे तत्कालै नियुक्ती दिने गरिन्छ । कतिपय त केवल दल, गुट र नेताका खल्तीका पत्रकार रहेका छन् । जसका लागि नेताका चाकडी गर्नुजति गज्जब केही लाग्दैन ।

यस्ता पात्र र प्रवृत्तिले गर्दा समग्र पत्रकारिता पेसा नै बदनाम छ भने पेसाकर्मीमाथि अविश्वास, वितृष्णा र घृणासम्म देखिन्छ । कैयौँ निष्ठावान् पत्रकारहरू पेसाबाटै विस्थापित भएका छन् । उता पत्रकारितालाई बार्गेनिङ वा सौदाबाजी शब्दसँग जोड्नु आफैँमा लज्जाको विषय हो । यही पत्रकारितामा जबर्जस्त प्रवृत्ति बन्दै छ । सबै पत्रकार र मिडियालाई मुछ्न मिल्दैन, तर विगतमा साप्ताहिक अखबारमाथि लाग्ने गरेको यस्तो प्रवृत्ति अनलाइन मिडियामा दिनप्रतिदिन झाँगिँर्दै गएको छ । बार्गेनिङका दर्जनौँ भेरियन्ट भेटिएका छन्, जसमा दलीय पत्रकारिताका प्रवृत्ति पाइन्छ । आर्थिक तथा राजनीतिक लाभ, विज्ञापन वा अन्य स्वार्थका लागि सौदाबाजी हुने गर्छ । संगठित वा समूह बनाएर समेत बार्गेनिङ गर्ने गरेको पाइन्छ, जुन आमपाठक वा दर्शकलाई पत्तै हुँदैन । सम्बन्धित सञ्चारकर्मीका असन्तुष्टि छछल्किएसँगै खुल्दै जान्छ ।

यहाँ आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन । शरीरमा पत्र–पत्र परेर बसेको मयल कोतरेर पखाल्न ढिलो भइसकेको छ । पत्रकारको शरीरमा थुप्रिएको यो फोहोर पखाल्न जति ढिलो हुन्छ, यसले त्यति धेरै दुर्गन्ध फैलाउने पक्का रहेको छ । नेता, कर्मचारी, प्रहरी, प्रशासनका त्रुटिहरू उधिन्दै धूवाँदार प्रश्न उठाउने हामी पत्रकारले आफैंमाथि निर्मम हुने समय आएको छ । एउटा गोजीमा पार्टी सदस्यता र अर्कोमा प्रेस कार्ड बोकेका, नेताबाट अनुमोदित ‘पत्रकार’ हरूबीच नै घम्साघम्सी गर्दै आएका छन् । पत्रकार महासंघको नेतृत्व लिन आफू सम्बद्ध पार्टीका शीर्ष नेताका घर र पार्टी कार्यालयमा द्वारपाले नै बन्न जाने प्रथाले गर्दा पनि नेपालको पत्रकारिता जगत आलोचित बन्दै आएको पक्कै हो ।

                     लेखक : रोशन कार्की

आज पत्रकारको नेतृत्व हत्याउन सफल तिनैले भोलि महत्वपूर्ण सरकारी ओहदाको नियुक्ति हात पार्नेछन् । अहिलेसम्म यस्तै हुँदै आएको छ । र, दोहोरिने सायद यस्तै हो । पत्रकारका नेताहरू पेसागत सुरक्षा र श्रमजीवी अधिकारका कुरा गरेर थाक्दैनन् । एउटा कुशल सम्पादक अथवा गतिलो रिपोर्टर हुन जति चुनौती छ, नेताको सिँढी चढेर नियुक्तिको पुरस्कार पाउन त्यति कठिन छैन । सायद त्यसैले धेरैजसो पत्रकार कुनै न कुनै पार्टीमा आबद्ध छन्, नेतानिकट हुन चाहन्छन् । विज्ञता÷क्षमता भएका पत्रकारले महत्वपूर्ण नियुक्ती पाउनु अस्वाभाविक होइन । तर, नेपालमा प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले पत्रकारलाई सल्लाहकार बनाउने जुन चलन चलेको छ, त्यसले ‘वाचडग’ को भूमिका नेताको चौकीदारमा सीमित गरिदिएको छ । पेसागत मर्यादा यसरी रसातलमा पुग्दै गर्दा महासंघको नेतृत्वमा पुगेकाहरु समेत उनै दलको निर्देशन लिएर श्रमजीविको हकहित भन्दै बाहिर कराउने र भित्र दलको निर्देशनमा घाँटी निमोन्ठने काम गर्दै आएका छन् । व्यवसायिक सञ्चार क्षेत्रको बजार संकुचित हुँदै गएको छ । अपारदर्शी लगानीको ओइरोसंगै मिडियाको संख्या बढ्दो छ ।

मिडिया ‘कन्टेन्ट’ को गुणस्तर र विश्वसनीयता चाहिँ घट्दो छ । पत्रकारलाई राजनीतिक आस्था बोक्ने छुट हुन्छ र हुनु पनि पर्छ । पार्टीको सदस्यको शपथ खाँदै निष्पक्ष र व्यावसायिक पत्रकारिताको डिङ हाँक्न सुहाउँदैन । पत्रकारले कुनै दलमा आबद्ध हुनु हुँदैन भन्ने पनि होइन । आबद्ध हुन सक्छन्, तथापि तिनले छाती पिटेर ‘फलानो पार्टीको वकालत गर्छु, पत्रकारिता होइन’ भन्न सक्नुपर्छ । व्यावसायिक पत्रकारिता र मर्यादाको कुरा गर्ने अनि पार्टी र नेता विशेषको पिछलग्गू हुने कर्म पत्रकारिता हुन सक्दैन । त्यो निश्चित समूहको आग्रह र स्वार्थमा गरिने प्रोपगान्डा मात्रै हुन्छ । यहीँनेर कित्ताकाट आवश्यक छ । पार्टी पिच्छे पत्रकारका संगठन सञ्चालन गर्दै आएका छन् । देशभर तिनै संगठनहरूसँंग जोडिएका पत्रकारको बाहुल्य छ । पत्रकारितामा दलीय सिन्डिकेट बलियो हुनुमा पत्रकार बन्ने कि पार्टी कार्यकर्ता भन्ने द्विविधाग्रस्त मनोदशामा भएको यही ठूलो पंक्ति जिम्मेवार छ ।

पत्रकारका नाममा खुलेका पार्टीका भ्रातृ संस्थाहरूलाई प्रोपगान्डा युनिटमा सीमित गर्दै श्रमजीवी सञ्चारकर्मीको एउटै संस्था काफी छ भन्ने सन्देश दिने सक्ने अबस्था तत्काल देखिएको छैन । जवसम्म दलगत पत्रकारहरुको सिन्डिकेट रहेसम्म । पत्रकार महासंघलाई कस्ता सञ्चारकर्मीको संस्था बनाउने ? भन्ने बारे पनि अब ढिला नगरि छलफल गर्नु पर्ने समय आईसकेको छ । महासंघमा दलगत सकृय सदस्यता लिएका पत्रकार र एनजीओ आईएनजीओका प्रतिनिधिमा पुग्दै आएका छन । जसले गर्दा व्यवसायीक पत्रकारितामाथी सत्ता र प्रतिपक्षले पटकपटक पत्रकारमाथी धावा बोली कलम भाच्दै आएका छन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा हरेक दिन थरीथरीका पत्रकार पुग्छन् । तिनका आ–आफ्नै आग्रह हुन्छन् । तिनलाई मुख्यतः दुई थरीमा बाँडेर हेर्न सकिन्छ । एक, समाचारको खोजीका लागि जाने सक्रिय पत्रकार ।

दुई, समाचार नलेख्ने पत्रकार । समाचार नलेख्ने पत्रकार एउटा कोट भिरेर कर्मचारी छिर्ने समयमै सिंहदरबार पुग्छ । र, सबैजसो मन्त्रालय चहार्छ । मन्त्री, सचिवदेखि शाखा अधिकृतसम्म उसको पहुँच हुन्छ । सरुवा, बढुवा, विज्ञापन, सहयोग आदि विभिन्न एजेन्डा लिएर पुगेको पत्रकारलाई समाचारसंँग कुनै सरोकार हुन्न । पार्टी र नेतासँंगको सम्बन्ध र रवाफका आडमा आफ्नो काम फत्ते गर्ने ध्याउन्न हुन्छ, उसको । दलीय प्रभाव र आबद्धता रहेका पत्रकारको त कुरै छोडौं, व्यावसायिक भनिएका कतिपय ‘नामचीन’ हरू पनि कोटरी र सिन्डिकेटमुक्त छैनन् । तसर्थ हामी सबैले एकचोटि आफ्नै अनुहार ऐनामा हेर्ने र घोत्लिने समय आएको छ । अब बेला आएको छ कि पत्रकारिता छोड् कि दलको सदस्यात त्याग्नु पर्ने । यो जवसम्म गर्न सकिदैन तव सम्म स्वतन्त्र पत्रकारिताको आशा नगर्दा हुन्छ । जय होस ।।

समाचार वर्गहरू