जाँचबुझ आयोगले पनि लिन मानेन ओली–लेखकविरूद्धको जाहेरी

85

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिन अस्वीकार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पठाएको ओली र लेखकविरूद्धको जाहेरी आयोगले लिन अस्वीकार गरेर फिर्ता पठाएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले ओली र लेखकविरूद्धको जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताएको छ।

बिहीबार आयोगका प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ति जारी गरेर यो जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन्।

हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङलगायतको सक्रियतामा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले जाँचबुझ आयोगमा पठाएको थियो।

भदौ २३ र २४ गतेका घटना छानबिन गर्न उच्चस्तरीय आयोग गठन भइसकेकाले जाहेरी लिन नमिल्ने भन्दै प्रहरीले आयोगमा पठाएको थियो।

राजपत्रमा समेत सूचना प्रकाशित भइसकेकाले जेनजी प्रदर्शनमा भएका घटनाबारे उच्चस्तरीय छानबिन आयोगले मात्र छानबिन गर्न सक्ने भएकाले उजुरी दर्ता नभएको प्रहरीको भनाइ थियो।

समाचार वर्गहरू