जेनजीको आधिकारिक समूह पत्ता लगाउन सेनालाई हम्मे

44

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल जेनजीका विभिन्न समूह र अन्य व्यक्तिहरूसँग छलफलमा जुटेका छन् ।

जेनजीको आन्दोलन सफल भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेपछि प्रधानसेनापति सिग्देल अन्तरिम सरकारको गठनमा जुटेका हुन् ।

प्रधानसेनापति सिग्देलले बुधबार जेनजीका समूहहरू, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतसँग छलफल गरेका थिए ।

सैनिक उच्चस्रोतका अनुसार प्रधानसेनापतिलाई अहिले सबैभन्दा गाह्रो जेनजीको आधिकारिक समूह कुन हो भन्ने पत्ता लगाउन भइरहेको छ । समूह अनुसारका फरक फरक धारणा र एजेण्डा हुँदा झन् समस्या परिरहेको स्रोतले जनाएको ।

सैनिक उच्चस्रोतले भन्यो, “जेन्जीको एउटा समूहले अब बन्ने अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि बढाएको छ।” यो समूहले कार्कीको नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पनि सहमति रहेको वार्ताका क्रममा दाबी गरेको छ ।

“प्रधान सेनापतिज्यूले वर्तमान समस्याबाट देशलाई निकास दिने प्रयास गरिरहनुभएको छ। अहिले प्रारम्भिक छलफल मात्रै भएको हो। निष्कर्षमा पुग्न अझै केही दिन लाग्ने देखिन्छ,” सैनिक उच्चस्रोतको भनाइ छ ।

 

समाचार वर्गहरू