जेनजीलाई गगन थापाको अपिल, संविधानमै टेकेर निष्कर्ष निकालौं (भिडियोसहित)

66

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्न अपिल गरेका छन्।

आज भिडियोमार्फत् आफ्ना धारणा सार्वजनिक गरेका थापाले संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने तर्फ समेत सचेत गराएका छन्।

उनले भनेका छन्, ‘अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’

‘मेरो एउटा अनुरोध छ, २०६२/६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौं। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो’ उनले भने ।

दोस्रो दिनको विध्वंशात्मक प्रदर्शनमा जेनजीको कुनै संलग्नता नरहेकोमा आफू स्पष्ट रहेको भन्दै महामन्त्री थापाले कतिपय नयाँ र कतिपय पुरानै अनुहारहरूको संलग्नता रहेको बताए।

समाचार वर्गहरू