जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुँदैछन् देउवा

59
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सार्वजनिक हुने भएका छन्।

जेनजी आन्दोलनपछि देउवा पहिलो पटक आज सार्वजनिक हुन लागेका हुन्।

भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन्।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सेतोपाटीलाई जानकारी दिए।

‘केन्द्रीय कार्यसमिति बैठकमा सभापतिज्यू जानुहुन्छ,’ विश्वकर्माले भने। देउवा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भने अनुपस्थित थिए।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित घरमै देउवा र उनकी पत्नी आरजु राणामाथि कुटपिट भएको थियो।

देउवाको टाउकोमा चोट लागेको थियो। उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। त्यसयता उनी उपचाररत थिए।

समाचार वर्गहरू