काठमाडौं – नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ ।
महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
सो क्रममा मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।
महासंघ प्रतिनिधिमण्डल संगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेको बताइन् ।
महासंघले संकलन गरेको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख छ ।