काठमाडौं – भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै आएका जेन–जी पुस्ताका युवाहरूलाई काठमाडौं प्रशासनले प्रदर्शन गर्न अनुमति दिएको छ। माइतीघर–नयाँबानेश्वर क्षेत्रलाई प्रदर्शन स्थल तोक्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार उक्त अनुमति दिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन–जी समूहका केही प्रतिनिधिहरू अनुमति माग्न कार्यालय पुगेको र प्रशासनले शान्तिपूर्ण ढंगले विरोध गर्न दिने निर्णय गरेको जानकारी दिए। उनले भने , “संवैधानिक अधिकारअन्तर्गत प्रदर्शन गर्न पाउने भएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर शान्तिपूर्ण कार्यक्रम गर्न दिइनेछ।”
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’ नामक समूहको नेतृत्वमा हुने यो प्रदर्शनमा विश्वविद्यालय तथा विद्यालयका विद्यार्थीहरू परिचयपत्रसहित र पोसाकमै उपस्थित हुने तयारीमा रहेको बताइएको छ। उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता र रोजगारी सिर्जना जस्ता मुद्दा अघि सार्दै जनदबाब सिर्जना गर्ने लक्ष्य लिएका छन्।
आयोजक समूहले कुनै राजनीतिक दल वा संगठनसँग आफूहरू सम्बद्ध नभएको दाबी गर्दै प्रदर्शनलाई पूर्णत: स्वतन्त्र र नागरिक पहलको रूपमा अघि बढाउने बताएका छन्।
यसैबिच प्रदर्शनमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले समर्थन जनाएका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन्।
‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन्।