झलनाथ खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गरिने

128

काठमाडौं – कीर्तिपुर वर्न अस्पतालमा उपचाररत पुर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया हुने भएको छ ।

कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरिएको जानकारी दिइन् । अस्पतालमा ल्याएको भन्दा उहाँको स्वास्थ्यमा केही सुधार आएको भए पनि खतरामुक्त हुन नसकेको डा. ताम्राकारको भनाइ छ ।

डा. ताम्राकारका अनुसार वर्न केसमा अस्पताल आएको चार–पाँच दिनपछि मात्र समस्या देखिन्छ । “वर्न केस अरू केस जस्तो हुँदैन । अस्पताल आएको चार–पाँच दिनपछि मात्र गम्भीर समस्या देखिने हुँदा बिरामीकाे बारेमा केही भन्न सकिदैन” उनको भनाइ छ ।

मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथ खनालको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उनको शरिरको केहि भाग जलेको थियो ।

आन्दोलनका क्रममा आगजनीमा घाइते भएर आठ जना वर्न अस्पतालमा भर्ना गरिएकोमा छ जना अस्पतालमा उपचाररत छन् ।

समाचार वर्गहरू