खोज्यौ सङ्कटमा मलाइ जहिल्यै ल्यायौ बनायौ त्यही
राख्यौ संयमसाथ वस्तु सजिलै झोला भएँ हो त्यही
पैसा वा कपडा सुरक्षित गरि भर्छौ त्यहीँ दौलथ
पाएनौ सजिलो कुनै वहनको मै काँम लागेँछु त ।
कैले पूजन कर्मका समयमा बोकेँ कयौँ सार्दम
कैले बारुद गोलि वा अझ यहाँ बोकेँ खजाना बम
कैले पुस्तक वा अनेक तहका कापी कलम् बोकियो
कैले खाली भएर थन्किन पुगेँ मेरो कदम् रोकियो ।
कैले पत्र र पत्रीका हरूसँगै धेरै कुरा बोकियो
दस्तावेज विचारका लयसँगै सञ्चारमा होमियो
विद्यार्थीहरुकानिमित्त सजिलै कक्षा पुगेकै थिएँ
भाँडो शिक्षकको भएर नतिजा मैले दिएको थिएँ ।
टाढा जान सधैँ सधैँ गरिरह्यौ प्रायोज्य मेरै किन?
ऐले दुच्छर सोचले किन गर्यौ मेरो अहो! लाञ्छना
तिम्रा सोच विचार निर्मम भए गर्छौ सधैँ बक्बक
बौलायौ कि कसो? कृतघ्न कित हौ मेरो लियौ हुर्मत ।
स्वार्थी हो! म सधैँ सधैँ बनिरहेँ संसार संवाहक
तिम्रा सुद्धि कुबुद्धिका कथनले हुन्छु म मर्माहत
आफैँ छौ बदमास वा कुमतिका साँच्चै छुल्याहाहरू
सत्ताका मदले निसासिन पुग्यौ वा छट्पटायौ अरू ।
त्यो आन्दोलनमा सधैँ सडकमा उफ्र्यौ करायौ सधैँ
बोकी पीठविषे मलाइ पनि ता साथै लगेका थियौ
त्यो झोला छ पवित्रता तर अहो! झोले बनायौ किन?
तिम्रा बुद्धि कृतघ्न भो म त पुगेँ झोले हुँदै खुम्चिन ।
पोख्यौ रोष कुवाच्यका सडकमा गाली गर्यौ निर्धक
यौटाले अरु मानमर्दन गरि होला र के ?सार्थक
बोली सभ्य भए सुसंस्कृत प्रथा हुर्केर फुल्ने थियो
लोली सार्थक स्वप्नका यदि भए समृद्धी झुल्ने थियो ।
झोला सार्थक विश्व शान्ती पथमा लम्कीरहेकै थियो
त्यै झोला सपना बनेर दुनियाँ सच्चेतना ब्यूँझियो
झोलाकै भरमा पुग्यो गहनका सन्देश ती कन्दरा
सारा औषध वा कयौँ जरिबुटी बोकी हिँडे सर्वदा ।
यी झोला अब तर्छँदैन सबला ब्यूझेर उठ्दै छ हे
सीनै बोक्न थिएन दूषित हुने सञ्चार बोक्दै गरे
झोला हो पथको सगौरव सधैँ साथी छ विस्वासको
मान्छेकै हितमा सधैं चलिरह्यो बाँडेर सौगात जो ।
इन्द्रावती ५ सिन्धुपाल्चोक