टेरामक्समा आयुक्तका तीनथरि मत हुँदा अख्तियार अनिर्णित

69

काठमाडौं – सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अनुसन्धान टुंगिएको महिनौँ बितिसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स भ्रष्टाचारबारे कुनै निर्णय गर्न सकेको छैन ।

तीन पूर्वमन्त्रीसहित मुख्यसचिव र सचिव समेत मुछिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महिनौँदेखि निर्णयविहीन अवस्थाबाट गुज्रिएको हो ।

१५ फागुन, २०८० मा संसदको सार्वजनिक लेखा समितिमा आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले छिट्टै निर्णय सार्वजनिक हुने बताएका थिए ।

अख्तियार उच्च स्रोतका अनुसार, आयोगका तीन पदाधिकारीहरु अर्थात् प्रमुख आयुक्त प्रेमकुमार राई, किशोरकुमार सिलवाल र जयबहादुर चन्दबीच मतभेद हुँदा अनुसन्धान प्रतिवेदन आयोगको बैठकमा पेश हुन र निर्णय हुन नसकेको हो । अरु दुई आयुक्तले यसमा आफ्नो राय दिएका छैनन् ।

टेरामक्स खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरु मोहनबहादुर बस्नेत, गोकुल बाँस्कोटा र ज्ञानेन्द्रबहादुर कार्की मुछिएका थिए । तीमध्ये ज्ञानेन्द्रबहादुर कार्कीको हकमा कांग्रेस र एमालेका केही नेताहरुले समेत चर्को दवाव दिए पनि अख्तियार प्रमुख प्रेमकुमार राई निर्णयविहीन अवस्थामा पुगेका थिए ।

त्यसपछि टेरामक्सको ठेक्का प्रक्रिया अघि बढाउन बजेट स्वीकृत गरेका मन्त्री कार्की र तत्कालिन सञ्चारसचिव बैकुण्ठ अर्याल बाहेक अरुलाई मुद्दा चलाउनेवारे छलफल भएको थियो ।

अख्तियार स्रोतका अनुसार, टेरामक्स प्रकरणवारे आयोगका तीन पदाधिकारीहरुविच तीनखालको धारणा छ । चर्को राजनीतिक दवावपछि प्रमुख आयुक्त प्रेमकुमार राई ज्ञानेन्द्रबहादुर कार्कीलाई छाडेर पूर्वमन्त्री मोहनबहादुर बस्नेत लगायतलाई मुद्दा चलाउन चाहन्छन् ।

मन्त्रीहरुमध्ये कसैलाई छाड्ने र कसैलाई मुद्दा चलाउने गर्न नहुने भन्दै अर्का आयुक्त चन्दले एउटा मन्त्रीलाई मुद्दा नचलाउने निर्णय गरेको अवस्थामा अर्कोलाई समेत मुद्दा चलाउन नहुने अडानमा छन् ।

कांग्रेस सत्ताबाहिर हुँदा अख्तियारले टेरामक्स खरिद अनियमितताको अनुसन्धान तिब्र पारेको थियो भने फाइल समेत टुंगिएको थियो । तर एमालेका केही नेताहरुको समेत दवाव आएपछि अख्तियारले ज्ञानेन्द्रबहादुर कार्कीका वारेमा निर्णय गर्न सकेन ।

समाचार वर्गहरू