डिजेल बोकेको ट्यांकर अपहरणमा, छानबिन गर्न कमिटी गठन

17

(काठमाडौं) – नेपाल आयल निगमको बाराको अमलेखगञ्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर जाँदै गरेको ट्यांकर अपहरणमा परेको ।

२० किलोलिटर डिजल लोड गरेर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अस्ति आइतबार राति सिराहाको लहानबाट अपहरणमा परेको ढुवानीकर्ताले आयल निगमलाई जानकारी गराएका छन् ।

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ’अपहरण’मा परेको लिखित जानकारी निगमलाई मंगलबार मात्र गराएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।

अज्ञात व्यक्तिले चालक र सह–चालकलाई आँखामा पट्टी बाँधेर अपहरण गरेका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई भने महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दीको बीचमा पर्ने जंगलबाट छाडेका थिए ।

पार्किङमा रहेको ट्याङकर ६ देखि ८ जनाको समूहमा आएका अपहरणकारी लगेको निगमले जनाएको छ । अमलेखगञ्जबाट दिउँसो २ बजे हिँडेको ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि पूर्वपश्चिम राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् ।

आयल निगमका प्रवक्ता गोइतले ढुवानीकर्ताले ट्यांकर गायव भएको कुरा निगमलाई जानकारी गराएको बताए । घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा सत्यतथ्य छानबिन गर्न कमिटी गठन गरेको छ । निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा गठित कमिटीलाई ७ दिनको समयसिमा दिइएको निगमले जनाएको छ ।

‘चालक र सहचालकलाई आँखामा पट्टि बाँधी विश्राम गरेको स्थानबाट गाडीमा राखेर बर्दिया र लालबन्दी बीचको जंगलमा छाडेको र डिजेल भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा कमिटी गठन भएको छ,’ निगमका प्रवत्ता गोइतले भने, ‘कमिटीले ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्छ । त्यसपश्चात अरु प्रक्रिया अगााडी बढाउँछौ ।’

समाचार वर्गहरू