डेढ अर्बको हुन्डी र क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय पक्राउ

99

काठमाडौं – डेढ अर्ब रुपैयाँबराबरको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारन बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार छन् ।

सानेपा कालोपुलमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए ।

प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार)जस्तो देखिने वस्तु एउटा, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु र पाँचवटा मोबाइलसमेत बरामद गरेको छ ।

लामो समयदेखि नेपालमा बस्दै आएका उनीहरू विभिन्न किमिसका आर्थिक अपराधमा संलग्न रहेको प्रारम्भिक छानबिनमा खुलेको छ ।

समाचार वर्गहरू