काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजा राजा नै हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले इतिहासले दिएको उपाधि भएकाले राजा राजा नै हुने बताएका हुन्। उनले जनताको हृदयबाट उक्लिएको सम्मानलाई कुनै कानुनले पनि रोक्न नसक्ने जिकिर गरे।
उनले भने, ‘राजा त राजा नै हुन्छ। इतिहासले दिएको उपाधि हो जनताको हृदयबाट उक्लिएको सम्मान हो, यो सम्मान न कुनै कानुनले रोक्न सक्छ, न कुनै पदले थाम्न सक्छ।’
शाही अगाडि लेख्छन्, ‘राजा सधैं राजा नै हुन्छ, अनि राजालाई राजा नै भनिन्छ प्रधानमन्त्री ज्यु, विदेशीका दलालहरूलाई दलाल नै भनिन्छ, आफ्नो जनताको लागि बैभव र शक्ति त्याग्नेलाई राष्ट्र प्रेमी र श्री ५ नै भनिन्छ।’
जिउँदै मान्छे जलाउनेलाई माफ दिई घोटाला र काण्ड गर्नेलाई भ्रष्टाचारी र अपराधी नै भनिने भनाइ राख्दै उनले भने, ‘यदि संविधानमा नलेखिएको कुरा लेख्न र बोल्न पाइँदैन भन्ने हो भने तपाईंको नाम पनि संविधानमा छैन, अब तपाईंको नाम उच्चारण गर्न नपाइने हो त, प्रधानमन्त्रीज्यू?’
शुक्रबार सोधपुछका लागि बोलाइएका पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणी राज पाठकलाई प्रहरीले पूर्वराजाको सचिवालय लेख्ने सर्तमा छाडेको थियो।
मुलुकमा राजसंस्था विस्थापित भएको १५ वर्ष भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सचिवालयबाट राजाकै हैसियतमा विज्ञप्ति जारी गर्न लगाउने र त्यही अनुसारको भ्रम सिर्जना गर्न गराएका थिए।