दुई न्यूनचापीय प्रणालीले वर्षाको राम्रै सम्भावना छ – मौसमविद्

77

काठमाडौं – यो साता देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखासहितका मौसमविद्ले हल्कादेखि मध्यमसम्म पानी पर्ने औँल्याएका छन् ।

बंगालको खाडी र अरबसागरमा बनेको दुई न्यूनचापीय प्रणालीको प्रभावले देशमा आउँदो मंगलबारदेखि शुक्रबारसम्म वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।

“बंगालको खाडी र अरबसागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा गराउने राम्रै सम्भावना देखिन्छ,” उनले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनका अनुसार, तीन मोडेलमा वर्षा हुने ठाउँ र मात्रा फरक–फरक देखिएको छ । तर, धेरै प्रभाव पूर्वी नेपालमा पर्ने उनले उल्लेख गरेका छन् ।

“तीनवटा मोडेल्सले वर्षा हुने ठाउँ र वर्षाको मात्रा फरक देखाएका छन्,” उनले लेखेका छन्, “तर, धेरै वर्षा पूर्वी नेपालमा हुने र बाँकी भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।”

महाशाखाका अनुसार, कोसी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । अरू प्रदेशका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखका मौसमविद् सरोज पुडासैनीले बताए ।

समाचार वर्गहरू