काठमाडौं – स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिना उतै रहने भएका छन्। घाँटीको थेरापीका लागि लामो समय लाग्ने भएकाले देउवा लामो समय सिंगापुर बस्ने भएका हुन्।
देउवाका निकट स्रोतका अनुसार, २४ भदौमा उनकै निवासमा भएको आक्रमणका क्रममा उनको घाँटीमा छुरी प्रहार भएको थियो। त्यो प्रहार छलेका कारण गम्भीर चोट नलागे पनि घाँटीको एकातिरको छेउको नसा चुँडिएको छ।
लामो समय उपचारका लागि विदेशमा रहनुपर्ने भएका कारण उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’को जिम्मेवारी दिएका छन्।
सभापति देउवाले २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा खड्कालाई ‘कार्यवाहक सभापति’ को जिम्मेवारी दिएका थिए। सोही दिनदेखि सुरु भएको केन्द्रीय समितिको बैठक १३ कार्तिकदेखि पुनः सुचारु हुँदैछ।
उपचारको क्रममा सिंगापुरमा रहँदा उनको हेरचाह पत्नी डा आरजु राणा देउवाले गर्नेछिन्। सिंगापुरमा रहेका देउवा निकट नेपालीहरुले पनि उपचारका क्रममा सघाउ पुर्याउने छन्।
देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका थिए। २४ भदौमा देउवा निवासमा भएको आगजनीमा दम्पतीकै पासपोर्ट जलेकाले उपचारका क्रममा रहेकै बेला ३ असोजमा उनीहरुको कूटनीतिक राहदानी बनाइएको थियो।