धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहद्वारा ३१ लाख ३४ हजार भ्रष्टाचार

4

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले प्रमाण बुझ्ने आदेश जारी गरेको हो ।

नाला निर्माण र फोहोर मैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न लगाइ कमिसन लिएको अभियोगमा सिंहसहित उपाध्यक्ष रामवती देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल र सावनकुमार चौधरीसहित कन्स्ट्रक्सन प्रालि, गाउँपालिका पूर्वअध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सब इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल, एकता कन्स्ट्रक्सन र उक्त कम्पनीका इन्द्रेशकुमार सिहंसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहोर मैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाइ कमिसन लिई बिना प्रतिस्पर्धा एक रुपैयाँको मात्रै फरक पारी एकता सप्लाइसँग मिलेमतोमा गुणस्तरहीन बजार सेड निर्माण गरिएको अभियोग छ । काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोप छ ।

गाउँपालिकाबाट नाला निर्माणमा ५० लाख र फोहोर मैला व्यवस्थापनमा ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तीन वटा कम्पनीले पेस गरेको दररेटमा सिमेन्ट स्यान्ड आइटमबाहेक सबै आइटमको दररेट एउटै पेस भएको थियो । सेटिङमा टेन्डर दिलाइ ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा हानी नोक्सानी गरेको अभियोग थियो ।

समाचार वर्गहरू