काठमाडौं – सरकारले राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा कुनै कानुन र कार्यविधि विपरित सधैं सडक अवरोध गर्दै आएको छ ।
विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ अनुसार ‘राजकीय भ्रमण, संसद्को बजेट अधिवेशन, संयुक्त संसद्को पहिलो बैठक, विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको निमन्त्रणामा हुने विदेश भ्रमण, नेपाल सरकारले तोकेको अन्य भ्रमण’ अति विशिष्ट सवारी हुन् ।
कार्यविधिमा भनिएको छ, ‘अति विशिष्ट सवारीका बेला ‘सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइनेछ ।’ सडक खाली गराएर सवारी गर्ने विषय कतै उल्लेख छैन । तर सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले ‘भक्ति प्रदर्शन गर्न’ सडक खाली गराउँदै आएका छन् ।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासदेखि संसद् भवन नयाँ बानेश्वरसम्म जाँदा र फर्किंदा खाली गराइएको सडकमा रिसल्लासहितको सवारीमा राष्ट्रपति गाडीमा थिइन् । उनको गाडी बग्गीको पछि–पछि भएकाले यात्रा अत्यन्तै सुस्त र पट्यारलागदो थियो ।
शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका बेला प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट तथा लाठी प्रहार गरेको थियो । उनको टाउको र हातमा चोट लागेपछि उनलाई ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ ।
नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ सर्जन डा. सिंहलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । संघले २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले दोषी सुरक्षाकर्मीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ अनुसार कडा कारबाही गर्न माग गरेको छ ।
यि र यस्तै घटनाले के पुष्टि गर्छ भने आफुलाई राजा महाराजा ठानेर नागरिकलाई रैति ठान्ने साशकहरुकै कारण पछिल्लो समय नेपाली राजनितिमा युवा पुस्ताको विकर्षण देखिन थालेको हो । यस्तै ढोङ्गी परम्पराको निरन्तरता भइरहने हो भने पुराना राजनितिक दलहरुको विकल्प खोज्ने नागरिकले वर्तमान व्यवस्थाकै विकल्प नखोज्लान भन्न सकिँदैन ।