काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्ने बताएका छन्।
पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिनुपर्ने बताए।
उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए।
‘तर, मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं,’ बैठकमा उनले भने।
महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा विशेष महाधिवेशन माग गरिएको छ।