निर्वाचन आउन ८१ लिन बाँकी : निर्वाचन आयोगदेखि राजनीतिक दलको सक्रियतामा तीव्रता

42

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्व सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगदेखि राजनीतिक दलहरुको सक्रियतामा समेत तीव्रता आएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आउन अब ८१ दिन मात्रै बाँकी रहेको छ। निर्वाचन तयारीस्वरुप आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ। यससँगै प्रमुख तथा पुरानादेखि नयाँ राजनीतिक दलले देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्।

नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अधिकांश जिल्लाले प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेर प्रदेशमा पठाइसकेका छन्। उम्मेदवार सिफारिसको म्याद भोलिसम्मलाई दिइएको छ। नेकपा एमालेले ११औँ महाधिवेशनमा रहँदा निर्वाचनको तयारीसमेत जुटेको छ। महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा सरकारको तयारी नपुगेको टिप्पणी गर्दै आफूहरु निर्वाचनबाट भने नभाग्ने बताए। यस्तै, नेपाली कम्युनिष्ट पार्टीले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ।

सो दलले हिजो सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ। समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ। समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन्।

समाचार वर्गहरू