काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।
कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए ।
तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको छ । उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् । यद्यपि, उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।
पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राख्दै आएका छन् । उनलाई शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले साथ दिएकाले ३८ सदस्यीय कांग्रेस संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत पनि पुग्ने स्रोत बताउँछ ।
यसैबीच, नेपाली कांग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले कानुन बन्ने कुरा जनताको थलोमा पारदर्शी हुनुपर्ने बताए ।
‘सरकारले प्रस्ताव गरे संसद्को अधिवेशन बोलाइसकेपछि बिना जानकारी फेरि संसद् स्थगित भएको पायौं,’ चालिसेले भने, ‘एकातिर बोलाएको संसद् स्थगित गर्ने अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन ।’
यसरी अध्यादेश ल्याउने तयारी हुँदा त्यसले सरकारलाई अनुकूलता प्रदान नगर्ने उनले बताए । ‘त्यसले अनुकूलता प्रदान गर्दैन । जनताको थलोमा हरेक कुरा पारदर्शी रुपमा छलफल होस्,’ उनले भने, ‘बोलाइएको संसद् स्थगित गरेर अध्यादेश ल्याइयो भने त्यो उचित होइन भनेर हामीले असहमति व्यक्त गर्दछौं ।’