नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

27

काठमाडौं – नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।

वसन्त कुँवरले सोमबार अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए । कुँवरलाई सोमबार साँझ नै गृह मन्त्रालयले बिदाइ गरिसकेको छ ।

कुँवरसँगै उनका ब्याचमेटहरू एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा गएका छन् । भट्टराई गत फागुन १३ मा मात्र एआईजी बनेका थिए । त्यस्तै डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्दले पनि अवकाश पाएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।

नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापासहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए । तर, ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि रहेका कारण उनलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको हो ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।

समाचार वर्गहरू