पानी परेपछि खेतमै भिज्यो काटेको धान

59

काठमाडौं – नुवाकोटका विभिन्न स्थानमा अकस्मात् वर्षा भएपछि खेतमा भित्राउन तयार धान भिजेको छ।

सदरमुकाम विदुर, छहरे, रातमाटे, तुप्चे, पीपलटारलगायत आसपासका क्षेत्रमा मंगलबार बिहानैदेखि पानी परेपछि खेतमा काट्न बाँकी र काटेर चुट्न तयार पारिएको धान भिजेको छ।

हिउँदे वर्षातले काटेर मुठा बनाइएको, काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि सयौं किसानहरू चिन्तित भएका छन्। थोरै अवधिमा पाक्ने धान खेतमा काटेर भित्र्याइसकेको र छिटो फल्ने धान किसानले करिब/करिब भित्र्याए पनि कतिपय खेतमा ढिलो पाक्ने धान काट्न र भित्राउन बाँकी रहेको धान भिजेको किसानहरू बताउँछन्।

बिउ र मलको अभाव भए पनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको विदुर नगरपालिका-६ इनारपाटीका किसान मधुसुदन अधिकारीको गुनासो छ। ‘धान भित्र्याउन भनेर खेताला खोजियो, पानी परेर काम नै रोकियो, धान नै भिज्यो,’ उनले भने।

धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागि भिजिरहेमा धान उम्रिने सम्भावना भएको अर्का किसान चक्रपाणि अधिकारीले बताए। उनले भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला।’

समाचार वर्गहरू