पूर्वउपराष्ट्रपतिलाई पार्टीमा बोलाएको होइन, आफैँ आउनु भयो – प्रचण्ड

35

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले सक्रिय राजनीतिमा ल्याएको नभएर आफैं आएको बताएका छन्।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले आफैँ राजनीतिमा आउने चाहना व्यक्त गरेको बताए।

पुनकै चाहनाका कारण उनलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै प्रचण्डले अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने स्पष्ट पारे।

तीन दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले १६ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ। बैठकले संसद छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजेको भन्दै विरोध गरेको छ। साथै तत्काल संघीय संसद् र प्रदेशसभाहरूको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न मागसमेत गरेको छ।

संघीयताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, बिद्यालय शिक्षा लगायतका प्रस्तावित विधेयकहरु तत्काल पारित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

 

समाचार वर्गहरू