पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताले एमालेमा तीव्र ध्रुवीकरण

103
फाइल फोटो

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै एमालेमा तीव्र रूपमा ध्रुवीकरण भइरहेको छ ।

पार्टी संगठनको केन्द्रदेखि जिल्लास्तरसम्मै दुई धार देखिन थालेका छन् । भदौ तेस्रो साता हुने विधान महाधिवेशनसम्म संस्थापन र भण्डारी पक्षमा नेताहरू अझै खुल्दै जाने देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तर रहने आकांक्षा देखाइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीले गत १४ असार पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । एमालेको एउटा पंक्तिले भण्डारीलाई भावी अध्यक्षका रूपमा हेरिरहेको छ । भण्डारी आफैंले पनि निकट नेताहरूसँग पार्टी नेतृत्वमा अघि सर्ने मनसाय व्यक्त गरिसकेकी छन् । त्यही कारण नेताहरूमा ध्रुवीकरण देखिन थालेको हो ।

पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा १४ असारमा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलेरै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसमेत उपस्थित थिए । पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्ति भएकाले सक्रिय हुनु स्वाभाविक भएको पोखरेलको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन घोषणाप्रति ओलीनिकट नेताहरूले भने आपत्ति जनाउँदै आएका छन् । पछिल्लो समय अध्यक्ष ओलीले आफूसँग असन्तुष्ट नेताहरूसँग भेटघाट र छलफल गर्न थालेका छन् । ओलीलाई भेटेका एक नेताले भने, ‘ओलीले आफू र भण्डारी सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।’

आइतबार गृहजिल्ला झापा पुगेका ओलीले एमाले नेतृत्वमा भण्डारी आउने भनाइलाई ‘प्रतिक्रियावादीको खेल’ भनेर टिप्पणी गरेका छन् । ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन,’ उनले भनेका थिए, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हामी विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’

भण्डारीका पक्षमा खुलेका स्थायी कमिटी सदस्य कर्ण थापा फरक मत राख्नेलाई धम्की दिइएको बताए । संस्थापन पक्षले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय हुन रोक्न खोजेको पनि उनले आरोप लगाए । ‘प्रशंसाको झूटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीतिविरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैंभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए उहाँहरूलाई यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्छु,’ उनले भने, ‘कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ ।’

एमाले प्रवक्ता राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको नाम नलिई पार्टीभित्र ‘विचारविहीन’ गुटबन्दी सुरु भएको टिप्पणी गरे । ‘फरक धार हुन फरक विचार हुनुपर्छ । केही पदका लागि स्वार्थी समूह सक्रिय हुँदैमा फरक धार बन्दैन,’ उनले भने, ‘विचार र नीतिविहीन समूह सक्रिय हुनुको अर्थ छैन । फरक विचार छ भने विधि र नीतिमा रहेर आफ्ना कुरा राख्नुपर्छ ।’

केन्द्रीय सचिवालयमा यस्तो छ समीकरण

१९ सदस्यीय केन्द्रीय सचिवालयमा ओली पक्षमा सात र भण्डारीतिर पाँच जना रहेको नेताहरू बताउँछन् । उनीहरूका अनुसार छ पदाधिकारी तटस्थ छन् । सचिव टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा छन् ।

एक पदाधिकारीका अनुसार केन्द्रीय सचिवालयमा संस्थापनतर्फ अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्याल छन् । भण्डारीतिर वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र रघुवीर महासेठ नजिकिएका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल, सचिवहरू पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको एमालेका एक नेताले बताए । उनका अनुसार अर्थमन्त्री रहेका उपाध्यक्ष पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका सचिव गुरुङ ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहे पनि तटस्थ छन् । सचिव भट्टराई विगतमा पूर्वराष्ट्रपति भण्डारीनिकट भए पनि अहिले तटस्थ रहेको ती नेताले बताए । कान्तिपुर बाट

समाचार वर्गहरू