पूर्व प्रदेश प्रमुख अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

96

काठमाडौं – बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षमा थुनामा पठाउने अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएसँगै उनी कारागार चलान भएका छन् ।  उनलाई डिल्लीबजार कारागार चलान गरिएकाे हाे ।

युवती बलात्कारको आराेपमा उनी पक्राउ परेका थिए । काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले  बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

यसैबिच अहिराजले भने  आफूलाई बलात्कारको जाहेरी दिने जाहेरीकर्ता  युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन् । बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले बुधबार काठमाडौं जिल्ला अदालतमा जाहेरीकर्ता युवतीविरुद्ध नै मुद्दा दायर गरेका हुन् ।

अहिराजबाट पीडित भनिएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको सर्वोच्च अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी गर्दै अहिराजले मुद्दा दायर गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।

समाचार वर्गहरू