पोहोर बच्चा फाल्ने बाबु अहिले अर्को बच्चाको लागि सुत्केरी गराउँदा पक्राउ परे

158

काठमाडौं – एक वर्षअघि पोखरा-१४, चाउथेमा नवजात शिशुको शव फेला परेको घटनामा शिशुकै बाबु संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उक्त घटनामा संलग्न नुवाकोट बेलकोटगढी नगरपालिका-५ स्थायी घर भई हाल पोखरा-९, नागढुंगामा बस्दै आएका गोविन्द लामिछानेलाई कास्की प्रहरीले साउन ४ गते पक्राउ गरेको हो।

उनी श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउँदा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

२०८१ असोज १३ गते साँझ चाउथेमा जेब्रा झोलाभित्र फलाटिनको कपडा र ब्ल्याङ्केटले बेरिएको अवस्थामा नवजात शिशु (छोरा) को शव फेला परेको थियो। पोष्टमार्टम रिपोर्टअनुसार शिशुको टाउको र घाँटीमा चोट लागेको र त्यही चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो।

प्रारम्भिक बयानका क्रममा लामिछानेले आर्थिक अवस्था कमजोर हुँदा पाल्न नसकिने भनी फालेको स्वीकारेका छन्। श्रीमतीको असहमति हुँदाहुँदै जबर्जस्ती फालेको उनले बताएका छन्। बच्चा जन्मिएपछि हस्पिटलबाट डिस्चार्ज भए लगत्तै सो घटना घटाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी बस्नेतले बताए।

समाचार वर्गहरू