प्रकाशमानले पूर्वविशिष्टको सुविधाबारे झूटो बोलेपछी ……

42

काठमाडौँ – सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानून ल्याउन लागेकामा जताततै आलोचना भएको छ । सरकारको सो कानून ल्याउने तयारी गरेपछि सामाजिक क्षेत्रका अगुवादेखि सत्तारूढ दलकै नेतासम्मले विरोध गरेका छन् ।

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिइसकेको छ ।

गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा निर्माणको प्रक्रिया शुरु भएको हो ।

अहिले पूर्वविशिष्टलाई दोहोरो सुविधा दिएर राज्यको ढुकुटीमाथि दोहन गर्ने कानुन बनाउन नहुने जिकिर धेरैको छ । आफ्ना अलोकप्रिय कामका कारण आलोचित भएको सरकारको यो निर्णयले थप आलोचना बढ्ने देखिएको छ ।

पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी कानुन बनाउन खोज्नु राज्यको ढुकुटीमाथिको दोहन भएको ठहर सबैको छ । पूर्व भइसकेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षका लागि यो कानुन बनाउन खोजिएको छ ।

अर्कोतर्फ पूर्वपदाधिकारीको सुविधासम्बन्धी कानुन बनाउन मन्त्रिपरिषद्बाटै स्वीकृति दिएको विषयमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वजनिक रूपमै झूट बोलेका छन् ।

मन्त्रिपरिषद् बैठकले २०८१ पुस ९ मा गृहलाई स्वीकृति दिए पनि पाल्पामा शुक्रबार भएको कांग्रेसको एक कार्यक्रममा मन्त्री सिंहले मन्त्रिपरिषद्बाट यससम्बन्धी कानुन ल्याउने निर्णय नभएको र मिडियाले अफवाह फैलाएको भन्दै गलत अभिव्यक्ति दिएका थिए ।

मन्त्रिपरिषद्ले पुस ९ मा गृह मन्त्रालयको प्रस्तावबमोजिम ‘पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने’ निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्बाटै भएको निर्णयलाई ढाँटेर सिंहले आफू यसबाट टाढा रहेको संकेत गरे पनि उनले विरोध गरेर रोक्नुपर्नेमा झूटो बोलेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ ।

समाचार वर्गहरू